Logo

२९ चैत,काठमाडौं । आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि छलफल हुने भएको छ। यद्यपि, छलफलको लागि समय भने अझै तय हुन सकेको छैन। शिक्षकहरू हाल आन्दोलनमा रहेकाले उनीहरूको प्रदर्शन रोकिएपछि वार्ता हुने बताइएको छ।

शिक्षा मन्त्रालयको आह्वानमा हिजो (बिहीबार) दुवै पक्षबीच पहिलो चरणको छलफल भएको थियो। उक्त छलफल आज पुनः बस्ने सहमतिसहित सकिएको थियो। नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्र रावलले आज आन्दोलन स्थगित गरेर छलफलका लागि मन्त्रालय जाने तयारी भइरहेको जानकारी दिएका छन्।

‘आज पनि छलफलमा बस्ने भनेर हिजो सकिएको थियो। आज कति बेला बस्ने भन्ने समय हामीले दिने हो। अब छलफल गरेर समय भन्छौँ,’ महासचिव रावलले भने। हिजोको पहिलो वार्तामा दुवै पक्षले आफ्ना धारणा राखेका थिए। सो क्रममा शिक्षकहरूले मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै पुराना सहमतिहरूको कार्यान्वयन र नयाँ ऐनमा समेट्नुपर्ने मुख्य २४ बुँदे माग प्रस्तुत गरेका थिए।

शिक्षकहरूले नयाँ शिक्षा ऐन कहिले जारी गर्ने भन्ने विषयमा सरकारको स्पष्ट योजना माग गरेका छन्। साथै, विगतमा भएका सहमतिहरू कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने विषयमा किन ढिलाइ भइरहेको छ भन्ने प्रश्न पनि उनीहरूले उठाएका छन्।

माग पूरा गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौंमा सडकमा उत्रिएर आन्दोलन गरिरहेका छन्। हिजो शिक्षा मन्त्रालय र आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलबीच नयाँ ऐनको विषयमा वार्ताको आधार तयार पार्न छलफल भएको थियो। महासचिव रावलका अनुसार आजको छलफल हिजोकै वार्ताको निरन्तरता हुनेछ।


सम्बन्धित समाचार