Logo

२९ चैत,काठमाडौं । सांसदहरूले काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने माग गरेका छन्। उनीहरूले घटनाबारे सोधपुछका लागि ज्ञानेन्द्रलाई संसदीय समितिमा बोलाउन प्रस्ताव गरेका हुन्।

संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै कांग्रेस सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्रलाई समितिमा बोलाएर तीनकुने घटनाबारे सोधपुछ गर्नुपर्ने बताए। उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै भएपनि बोलाएर घटनाबारे सोधपुछ गरौं।’

पूर्वराजा पनि आम नागरिक सरह नै रहेकाले उनलाई पनि कानुन बमोजिम जवाफदेही बनाउनुपर्ने परियारको भनाइ छ। ‘उनलाई पनि नागरिकलाई जति अधिकार हो त्यति अधिकार छ। लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन,’ उनले थपे।

कांग्रेसका साथै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले समेत तीनकुने घटनाको विषयलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने माग राखेका छन्।

स्मरण रहोस्, गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो। उक्त प्रदर्शनमा निजी सम्पत्तिमा क्षति पुगेको थियो भने नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा आगजनी समेत भएको थियो।


सम्बन्धित समाचार