Logo

२९ चैत,सिम्रौनगढ । सिम्रौनगढ बजारको विकासका लागि आज सिम्रौनगढ उद्योग वाणिज्य संघको सभाकक्षमा सरोकारवालाहरुसँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय व्यापारी र बासिन्दाले सिम्रौनगढस्थित छोटी भन्सार कार्यालयको स्तरोन्नति र क्वारेन्टाइन व्यवस्थापनको माग राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सिम्रौनगढको समग्र विकासका लागि भन्सारको स्तरोन्नति आवश्यक भए पनि ऐतिहासिक, पर्यटकीय र धार्मिक स्थलहरूको विकास पहिलो प्राथमिकता हुनुपर्ने बताए। उनले यहाँ छरिएर रहेका ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका कलाकृति तथा वास्तुकलाको संरक्षण गर्दै यस क्षेत्रको सौन्दर्यकरण गरे आन्तरिक तथा बाह्य पर्यटक र धार्मिक यात्रीहरूको आगमन बढ्ने र यसले समग्र क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रमुख जिल्ला अधिकारी अधिकारीले नेपालबाट भारततर्फ निर्यात हुने वस्तुहरूको प्रवद्र्धनमा पनि ध्यान दिनुपर्ने बताए। उनले सीमावर्ती क्षेत्रमा हुने तस्करी, बिना कागजातका भारतीय सवारी साधनको प्रयोग, अवैध मदिरा भट्टी सञ्चालन र अस्पतालमा हुने ठगी जस्ता विकृतिहरू नियन्त्रण गर्न उद्योग वाणिज्य संघ, सञ्चारकर्मी र स्थानीय बासिन्दा एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिए। उनले स्थानीयको मागलाई सम्बन्धित निकायसम्म पु¥याएर सम्बोधन गराउने प्रतिबद्धता पनि व्यक्त गरे।

सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवार, जिल्ला प्रहरी कार्यालय कलैयाका प्रहरी उपरीक्षक सन्तोष तामङ्ग, सशस्त्र प्रहरी बाराका उपरीक्षक खेम बहादुर केसी, राष्ट्रिय अनुसन्धान बाराका उपरीक्षक दीपक खडका, उद्योग वाणिज्य संघ सिम्रौनगढका पूर्व अध्यक्षहरू जयन्त कुशवाहा र अवधेश सहनी, सञ्चारकर्मी रामेश्वर मेहता र सिकेन्द्र साह लगायतले आआफ्नो धारणा राखेका थिए।

कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीओम प्रसाद जयसवाल, कर्मचारी, जनप्रतिनिधि र स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो। बारा उद्योग वाणिज्य संघ सिम्रौनगढको आयोजनामा भएको यो अन्तरक्रिया कार्यक्रमको सहजीकरण संघका सचिव रामबाबु कुशवाहाले गरेका थिए।


सम्बन्धित समाचार