२९ चैत,काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंविरुद्ध सुरुमा तीनवटा मुद्दामा अनुसन्धान अघि बढाउने भएको छ। प्रहरीको कसुर दर्ता किताबमा हाल उनीविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुर दर्ता गरिएको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को अनुसूची ७ अनुसार प्रहरीले यी कसुरहरू दर्ता गरी अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउने कानुनी व्यवस्था छ। काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले रातोपाटीसँग कुरा गर्दै अनुसन्धानका क्रममा प्रसाईंविरुद्ध अन्य कसुरहरू पनि आकर्षित हुनसक्ने बताए।
जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार नै प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुर दर्ता गरेको थियो। चैत १५ गते प्रसाईंले चलाएको गाडीले प्रहरीलाई किच्ने प्रयास गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। प्रहरीले उनले जानीजानी प्रहरीलाई किच्न खोजेको आरोप लगाएको छ।
प्रहरी प्रधान कार्यालयको दाबी अनुसार प्रसाईं र उनका सुरक्षा गार्डलाई शुक्रबार बिहान झापाको भद्रपुरबाट पक्राउ गरिएको हो। तर, प्रहरी स्रोतका अनुसार प्रसाईंलाई भारतको आसामबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनी चैत १५ गते तीनकुनेमा भएको अवाञ्छित गतिविधिपछि फरार भएका थिए।
प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आयोजना गरेको पूर्व राजाको पक्षमा भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने प्रदर्शनकारीले तोडफोड गर्दा निजी सम्पत्तिमा क्षति पुगेको थियो। उक्त प्रदर्शनमा ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रमुख नवराज सुवेदी पनि सहभागी थिए र हाल उनी गौरीघाटस्थित आफ्नै घरमा नजरबन्दमा छन्।
















