Logo

२९ चैत,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन स्थानीय र प्रदेश सरकारले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। शुक्रबार सिर्सिया नदीको स्थलगत निरीक्षणपछि वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले सिर्सिया नदीलाई स्वच्छ र हराभरा बनाउनु अपरिहार्य भएको बताए।

जैन श्वेताम्बर तेरापन्थीसभाले महावीर जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले भने, ‘सिर्सिया नदी कुनै समयमा स्वच्छ र पवित्र थियो र यहाँ स्नान गर्दा विभिन्न रोग निको हुने जनविश्वास थियो। तर, अहिले प्रदूषणका कारण समस्या भएको छ। अब सबै मिलेर यसलाई सफा बनाउन लाग्नुपर्छ।’

मुख्यमन्त्री सिंहले जैनधर्मका प्रवर्तक महावीरको जीवनीबाट अहिंसा र सामाजिक सत्कर्मको मार्गमा हिँड्न प्रेरणा लिनुपर्ने बताए। उनले भने, ‘आजको प्रतिस्पर्धात्मक युगमा भगवान् महावीरका उपदेशहरू उत्तिकै सान्दर्भिक छन्। जैन संस्कृति र सभ्यतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु आवश्यक छ।’

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भगवान् महावीरको अहिंसाको बाटोलाई सबैले अनुसरण गर्नुपर्ने धारणा व्यक्त गरे।

 


सम्बन्धित समाचार