
३० चैत,सर्लाही । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–१० स्थित कटानीमा रहेको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा गए राति भीषण आगलागी भएको छ। आगलागीबाट उद्योगमा लाखौं रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आत्मा राम रायको सञ्चालनमा रहेको तेल उद्योगमा राति करिब ११ः५० बजे आगलागी सुरु भएको थियो। आगलागीको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायब निरीक्षक उदय कुमार झाको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो।
प्रहरी, स्थानीय बासिन्दा र दमकलको संयुक्त प्रयासमा करिब तीन घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। प्रहरीका अनुसार प्रारम्भिक अनुमानमा आगलागीका कारण उद्योगमा भण्डारण गरिएको तेल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र अन्य सामग्री जलेर करिब १२ लाख ३२ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
यद्यपि, आगलागीको घटनामा कुनै मानवीय वा चौपायाको क्षति भने भएको छैन। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। घटनास्थल इलाका प्रहरी कार्यालय मुर्तियाबाट करिब ४ किलोमिटर दक्षिणमा पर्दछ।