Logo

३० चैत,वीरगञ्ज । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरू पछिल्लो समय अघोषित लोडसेडिङ र अनियमित विद्युत कटौतीको मारमा परेका छन्। नेपाल विद्युत प्राधिकरणले बिना सूचना विद्युत कटौती गर्दा औद्योगिक उत्पादनमा गम्भीर असर परेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण जनाएको छ।

संघले शनिबार एक विज्ञप्ति जारी गर्दै औद्योगिक कोरिडोरमा भइरहेको अप्रत्याशित विद्युत कटौतीप्रति चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा विगत तीन दिनदेखि भइरहेको अघोषित लोडसेडिङ र बिना जानकारीको विद्युत अवरोधका कारण पर्सा र बाराका करिब दुई हजार साना–ठूला उद्योगहरू समस्यामा परेको उल्लेख छ।

संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले विद्युत कटौतीका कारण उद्योगहरूको कच्चा पदार्थ खेर जाने, उपकरणहरू बिग्रने, उत्पादन लागत बढ्ने र समग्र उत्पादन क्षमतामै नकारात्मक असर परेको बताए। उनले विगतमा औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त घोषणा गरिए पनि पछिल्लो समयको विद्युत आपूर्तिले उद्योगीहरूलाई निराश बनाएको उल्लेख गरे। बिहीबार साँझ ६ बजेदेखि अवरुद्ध भएको विद्युत शुक्रबार दिउँसो २ बजे मात्र आएको र जगरनाथपुर फिडरमा पनि बारम्बार ट्रिपिङ भइरहेको उनले जानकारी दिए।

संघका अध्यक्ष हरि गौतमले विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त घोषणा गरेको स्मरण गराउँदै पुनः विद्युत कटौती हुँदा उद्योगहरू धराशायी हुने अवस्था आएको बताए। डिजेल जेनेरेटरको प्रयोगले उत्पादन लागत बढ्ने र साना उद्योगहरूले जेनेरेटर चलाउन नसक्ने अवस्थाका कारण उद्योग नै बन्द गर्नुपर्ने स्थिति आउन सक्ने उनको भनाइ छ।

औद्योगिक फिडरमा २४ घण्टामा १४–१५ पटकसम्म ट्रिपिङ हुँदा उपकरण बिग्रने र कच्चा पदार्थ नोक्सान हुने गरेको उद्योगीहरूको गुनासो छ। संघले अघोषित लोडसेडिङको निश्चित समय तालिका सार्वजनिक गर्न र बाँकी समयमा गुणस्तरीय विद्युत आपूर्ति गर्न माग गरेको छ। उद्योगहरूले तिरेको महसुल अनुसारको भरपर्दो विद्युत सेवा पाउनुपर्नेमा संघले जोड दिएको छ।


सम्बन्धित समाचार