
३० चैत,वीरगञ्ज । लेखक एवं व्यवसायी गणेशप्रसाद लाठद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘सीमान्त सम्झना’ सार्वजनिक भएको छ । नेपालय प्रकाशनले शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुस्तकको लोकार्पण गरेको हो ।
वीरगञ्जमा जन्मिएर हुर्किएका लेखक लाठले आफ्नो गृहनगरका विषयमा देखेका र भोगेका अनुभवहरूलाई पछिल्लो पुस्तामाझ पु¥याउने उद्देश्यले यो पुस्तक लेखेको बताए । उनले ‘सीमान्त सम्झना’ लाई एक जिज्ञासु बालक र किशोरले देखेको आफ्नो समाजको रूपान्तरणको संस्मरणको रूपमा व्याख्या गरे ।
समाजका विसङ्गतिहरूलाई साहित्यमार्फत उजागर गर्न रुचाउने लाठले यसअघि छमियाँ, अघटित र क्षमादान जस्ता कृतिहरू प्रकाशन गरिसकेका छन् । ‘सीमान्त सम्झना’ उनको पाँचौं कृति हो, जसलाई तयार पार्न उनले तीन वर्षको समय लगाए । पुस्तकमा वीरगञ्जका पुराना जानकार व्यक्तिहरूसँगको कुराकानीलाई पनि समावेश गरिएको छ ।
कार्यक्रममा बोल्दै लेखक यादव देवकोटाले वीरगञ्जबारे लेखिएको यो पुस्तक अनुसन्धानमूलक रहेको बताए । उनले व्यवसायी भएर पनि लाठले यस्तो गहन कृति प्रकाशन गर्नु सकारात्मक भएको उल्लेख गरे ।
पुस्तकको बारेमा प्रकाशकले भनेको छ, ‘विज्ञान र प्रविधिका आविष्कारहरूले पैदा गर्ने कुतूहल अनि तिनले निर्माण गर्ने नयाँ अध्यायहरूको सुन्दर कोलाज यहाँ छ । रमाइलै रमाइलोमा गम्भीर कुरा पस्किने यस पुस्तकले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास भन्छ । यस्तो लोक इतिहास जो लेखिएन; यति मीठो मसिनोसँग त झनै लेखिएन । हर परिवेशको इतिहास नआई देशको इतिहास पनि त पूरा हुँदैन नि, हैन र !’
‘सीमान्त सम्झना’ ले वीरगञ्जको सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनलाई लेखकको व्यक्तिगत अनुभवमार्फत जीवन्त रूपमा प्रस्तुत गरेको छ ।