
३० चैत, वीरगञ्ज । हनुमान जयन्तीको अवसरमा शनिबार वीरगञ्जमा आयोजित शोभा यात्राका क्रममा छपकैया इदगाह चोकमा दुई पक्षबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ । बढ्दो तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) अनुसार शनिबार साँझ ६:३० बजेदेखि आइतबार मध्यान्ह १२ बजेसम्म कर्फ्यु लागू हुने जानकारी दिएका छन् ।
कर्फ्यु क्षेत्रको चारकिल्ला यस्तो छ:
-
पूर्व: वीरगञ्ज–१५ को भेडियाही चोक
-
पश्चिम: वीरगञ्ज–२५ को सिर्सिया पुल
-
उत्तर: वीरगञ्ज–१४ को गण्डक चोक
-
दक्षिण: वीरगञ्ज–१६ को शङ्कराचार्य गेट
कर्फ्यु अवधिभर सो क्षेत्रभित्र सर्वसाधारणको आवतजावत, सभा, जुलुस, प्रदर्शन, घेराउ लगायतका सबै गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ । प्रशासनले शान्ति-सुरक्षा कायम राख्न नागरिकलाई संयमित रहन आग्रह गरेको छ ।
झडप कसरी सुरु भयो?
स्थानीय प्रत्यक्षदर्शीका अनुसार शोभा यात्रा इदगाह चोक नजिक पुग्दा एक पक्षले अर्काे धर्मावलम्बीको घरको छतबाट ढुंगा प्रहार गरेको दाबी गरिएको छ । “शान्तिपूर्ण रुपमा गीत–संगीतका साथ अगाडि बढिरहेको यात्रामा ढुंगा प्रहार भएपछि झडप सुरु भयो,” एक सहभागीले भने ।
ढुंगामुढापछि आक्रोशित भिडले इदगाह चोकमा रहेका दुई होटेलमा तोडफोड गर्नुका साथै करिब आधा दर्जन मोटरसाइकलमा आगजनी गरेको थियो । झडपमा करिब डेढ दर्जन सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
स्थिति नियन्त्रणमा ल्याउन अश्रुग्यास प्रयोग
प्रहरीले भिड तितरबितर पार्न थुप्रै राउण्ड अश्रुग्यास प्रहार गरेको छ । हाल स्थिति नियन्त्रणमा रहेको जनाइएको छ, तर तनावपूर्ण अवस्था कायमै छ ।
प्रशासनले घटनाको पूर्ण विवरण संकलन भइरहेको जनाएको छ भने दोषी पहिचान गरी आवश्यक कारबाही गरिने बताएको छ ।
यो पनि पढ्नुहोस् :-
वीरगञ्जमा तनाव बढ्दै, जिल्ला प्रशासनद्वारा कर्फ्यु लगाउने तयारी
वीरगञ्जको छप्पैया चौकमा तनाव, हनुमान जयन्तीको र्यालीमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार