
३० चैत,वीरगञ्ज । वीरगञ्जमा बढेको तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कफ्र्यु जारी गरेको छ । वीरगञ्ज महानगरपालिका आसपासका क्षेत्रमा आज साँझ साढे ६ बजेदेखि भोलि मध्यान्ह १२ बजेसम्मका लागि कफ्र्यु लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरेका हुन् । दुई पक्षबीचको झडपले स्थिति असामान्य बनेपछि प्रशासनले यो कदम चालेको हो ।
आज शनिबार हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण चाड हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । सोही क्रममा शोभायात्रामा सहभागी केही व्यक्तिहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले विरोध गरेपछि दुई पक्षबीच छपकैया क्षेत्रमा झडप भएको थियो । यो झडप पछि स्थिति झन् तनावग्रस्त बनेको थियो ।
जिल्ला प्रशासन कार्यालयले कफ्र्यु अवधिभर सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । सुरक्षाकर्मीहरूलाई स्थिति नियन्त्रणमा राख्न परिचालन गरिएको छ । भोलि मध्यान्ह १२ बजेपछि अवस्था सामान्य भएमा कफ्र्यु हटाइने वा थपिने भन्नेबारेमा जिल्ला प्रशासन कार्यालयले जानकारी गराउने छ ।