Logo

३१ चैत, वीरगञ्ज । शनिबार वीरगञ्जमा हनुमान जयन्तीको उपलक्ष्यमा आयोजित शोभा जात्रामा भएको घटनाका दोषीलाई प्रमाण र तथ्यका आधारमा कार्वाही गर्ने स्थानीय प्रशासनले प्रतिवद्धता जाहेर गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुरक्षा निकायसँग भएको केही तथ्य प्रमाण र भिडियोहरुको आधारमा दोषीलाई कानून बमोजिम कार्वाही हुने बताएका हुन । उनले घटनामा संलग्न दोषीलाई कार्वाही गर्दा मेरो वा तेरो व्यक्ति परयो भनेर छुटाउन नआउन राजनीतिक दलका प्रतिनिधिलाई आग्रह गरे ।

वीरगञ्जमा शनिबार भएको तनावको स्थिती अन्त्यको लागि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार बिहान जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय बैठक राखेका थिए । बैठकमा पर्सामा क्रियाशिल राजनीतिक दलका नेताहरु, धार्मिक संघ संस्थाका प्रतिनिधि र नागरिक समाजका अगुवाहरुको सहभागीता रहेको थियो ।

हाम्रो जस्तो बहुभाषिक, बहुधार्मिक र बहुजाति समुदाय रहेको ठाउँमा कुनै एक धर्म समुदायले अर्को धर्म समुदायको रिती रिवाज, चाड पर्वमा सम्मान जनक व्यवहार गर्नुपर्नेमा सम्प्रदायिक सम्वन्ध भड्काउने उदेश्यले गरिने कुनै पनि क्रियाकलाप सरकारलाई स्वीकार्य नहुने प्रजिअ अर्यालको भनाई थियो ।

शनिबार भएको घटनामा घाइतेहरुको निशुल्क उपचारको लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनाको निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कानून बमोजिम कार्वाही गर्न दुवै सुरक्षा निकायका एसपीलाई प्रजिअ अर्यालले निर्देशन दिएका छन् ।

सर्वपक्षिय बैठक अझै जारी रहेको छ । बैठकले घटनाको बारेमा ठोस निष्कर्ष निकाल्न सकेको छैन । बैठकमा सहभागी रहेका हिन्दु संघ संस्थाका प्रतिनिधिहरुले हिन्दु समुदायले निकाल्ने जात्रामा हरेक पटक आक्रमणको प्रयास हुने गरेकोले यसको निष्पक्ष छानविन नभएमा आगामी दिनमा यसको परिणाम राम्रो नहुने चेतावनी दिएका थिए ।

जिल्ला प्रशासनमा भएको छलफल गम्भिर बिषयमा सरोकारवाला पक्षलाई एक्ला एक्लै राखेर ठोस निष्कर्ष सहित सामुहिक छलफल गराउनु पर्नेमा एउटै समुहमा राखेर भएको छलफललाई सामाजिक सञ्जालमा समेत लाइभ गर्ने कार्यले बैठकले ठोस निष्कर्ष निकाल्न नसकेको एक सहभागीले बताए ।


सम्बन्धित समाचार