Logo

३१ चैत,काठमाडौं । आन्दोलनरत शिक्षकहरुका मागलाई सम्बोधन गर्ने प्रयास स्वरुप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई आज अर्थ मन्त्रालय पुगेकी छिन्। मन्त्रिपरिषद् र शिक्षा मन्त्रालयले तत्काल गर्न सक्ने निर्णयहरु गरेर आगामी संसद अधिवेशनको पहिलो साताभित्रै शिक्षा विधेयक संसदमा पेश गर्ने गरी सरकार र शिक्षकहरुबीच सकारात्मक संवाद भइरहेको छ।

शिक्षकहरुको सेवा सुविधासँग सम्बन्धित विषयहरु अर्थ मन्त्रालयसँग पनि जोडिएकाले शिक्षामन्त्री भट्टराईले अर्थमन्त्रीसँग छलफल गरेकी हुन्। शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार, शिक्षकहरुको सेवा सुविधाका लागि आवश्यक स्रोत व्यवस्थापनका विषयमा छलफल भएको छ।

यसअघि शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले पनि शिक्षकका कतिपय मागहरु आगामी बजेटबाट सम्बोधन गर्ने गरी गृहकार्य भइरहेको बताएका थिए।

शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षक र सरकारका प्रतिनिधिहरुबीच लगातार वार्ता जारी छ। अर्थ मन्त्रालयमा छलफल सम्पन्न भएपछि शिक्षक र सरकारबीच थप संवाद हुने बताइएको छ।


सम्बन्धित समाचार