Logo

३१ चैत,वीरगञ्ज । वीरगञ्जमा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राका क्रममा दुई समुदायबीच उत्पन्न भएको विवादलाई साम्य पार्न आज बसेको सर्वदलीय बैठकले महत्वपूर्ण सफलता हासिल गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न भएको बैठकमा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले तीन बुँदे प्रतिबद्धता व्यक्त गर्दै आपसी सद्भाव र शान्ति कायम गर्ने दृढ संकल्प लिएका छन्।

बैठकले सबै धर्म र सम्प्रदायका संघसंस्थाहरुलाई विविधतामा एकता, सामाजिक तथा सांस्कृतिक सद्भाव, सहिष्णुता र मेलमिलापलाई अक्षुण्ण राख्दै समतामूलक समाज निर्माणमा एकजुट भएर अगाडि बढ्न आह्वान गरेको छ। साथै, शान्ति र अमनचयनमा खलल पुग्ने कुनै पनि धार्मिक वा सामुदायिक ¥याली, बन्द जस्ता गतिविधि नगर्ने प्रतिबद्धता पनि दलका प्रतिनिधिहरूले जनाएका छन्।

सर्वदलीय बैठकले झडपमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार राज्यको तर्फबाट हुनुपर्ने माग गरेको छ। यसका साथै, हनुमान जयन्तीको शोभा यात्रामा विवाद सिर्जना गर्ने जो कोहीलाई पनि पहिचान गरी कानूनी दायरामा ल्याएर कडा कारबाही गर्न पनि जोडदार माग गरिएको छ।

बैठकमा सहभागी सबैले वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न सबै नागरिकलाई अपील गरेका छन्।


सम्बन्धित समाचार