Logo

३० चैत,जनकपुर । वीरगञ्जमा हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभा यात्रामाथि ढुङ्गा प्रहार गरी कार्यक्रम विथोलेको घटनाको विरोधमा जनकपुरमा राष्ट्रिय एकता अभियानले आज  प्रदर्शन गरेको छ। वीरगन्जमा भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अभियानले जनकपुरमा प्रदर्शन गरेको हो।

उक्त विरोध प्रदर्शनमा सहभागीहरूले गृहमन्त्रालयको निष्क्रियताप्रति कडा आक्रोश व्यक्त गर्दै गृहमन्त्रीको पुतला दहन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनका क्रममा “सर्वपक्षीय बैठकको नाटक बन्द गर“, “जिहादी आतंकवाद मुर्दावाद“, “दोषीलाई तत्काल गिरफ्तार गर“ जस्ता नाराहरू घन्काइएका थिए। अभियानका प्रतिनिधिहरूले भने, “यो कुनै साधारण घटना होइन, धार्मिक स्वतन्त्रतामाथि आक्रमण हो। दोषीहरूलाई छिटोभन्दा छिटो कारबाही नभए अझ कडा आन्दोलन गरिनेछ।“

यसैबीच, जनकपुरमा प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ। प्रशासनले वीरगन्ज घटनाको विषयमा गम्भीर रूपमा छानबिन गरिरहेको पनि जानकारी दिएको छ। जनकपुरमा भएको यो प्रदर्शनले वीरगन्ज घटनाको राष्ट्रिय स्तरमा थप ध्यानाकर्षण गराएको छ।


सम्बन्धित समाचार