Logo

३१ चैत,काठमाडौं । हङकङमा सम्पन्न टी–२० सिरिजको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ। मङ्कोकस्थित मिशन रोड मैदानमा सोमबार भएको रोमाञ्चक फाइनल खेलमा कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १७१ रनमा समेटियो ।

९२ रनमा ८ विकेट गुमाएको स्थितिबाट बसिर अहमद र नन्दन यादवले लक्ष्यनजिक पु¥याए पनि जित दिलाउन सकेनन् । बसिरले ४३ बलमा ८ चौका र ४ छक्का सहित ८० रन बनाए। अन्त्यतिर नन्दनले १४ बलमा ३७ रनको आक्रामक पारी खेले ।

यसअघि टस जितेर बलिङ रोजेको नेपालले कुवेतलाई निर्धारित २० ओभरमा १७४ रनमा रोकेको थियो । कुवेतका लागि रविजा सान्दारुवनले ३६ बलमा ६३ रन बनाए। नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए।
ब्याटिङमा नेपालको शुरूआत निराशाजनक रह्यो। टप अर्डरमा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट भए भने कप्तान रोहित पौडेल पनि ७ रनमै पेभेलियन फर्किए।

विकेट नियमित अन्तरालमा झर्दै गएपछि दबाबमा परेको नेपाललाई बसिर र नन्दनले लयमा ल्याएका थिए। अन्तिम ओभरमा नेपाललाई जितका लागि ११ रन आवश्यक थियो। तर, बसिर अहमद १९.३ ओभरमा आउट भएपछि नेपालको जितको आशा चकनाचुर भयो।४ देश सम्मिलित यस प्रतियोगितामा नेपाल उपविजेतामा सीमित रहन पुग्यो ।


सम्बन्धित समाचार