Logo

३१ चैत,काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन बोलाउने विषयमा छलफल थालेको छ। सरकारी अधिकारीहरूका अनुसार जेठ महिनाको पहिलो साताको अन्तिमतिर वा जेठको दोस्रो साताभित्र वर्षे अधिवेशन आह्वान गर्नेबारे आन्तरिक परामर्श भइरहेको छ।

यसैबीच, राष्ट्रिय स्तरका कर्मचारी ट्रेड युनियनका प्रतिनिधिहरूले आइतबार सभामुख देवराज घिमिरे र प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग भेट गरेका छन्। संघीय निजामती सेवा ऐनलाई प्राथमिकता दिन माग गर्न पुगेका कर्मचारी नेताहरूसँगको भेटमा सभामुख घिमिरे र सभापति खतिवडाले यस विषयमा आफूहरू गम्भीर रहेको बताएका थिए।

सोही क्रममा संसदीय समितिका सभापति रामहरि खतिवडाले कर्मचारी नेताहरूलाई सरकारले जेठ ७ गते (वरिपरि) वर्षे अधिवेशन बोलाउनेबारे छलफल गरिरहेको जानकारी गराएका थिए।

संसद सचिवालयका अधिकारीहरूका अनुसार सरकारले वर्षे अधिवेशन बोलाउनेबारे औपचारिक रूपमा सुझाव नलिए पनि कहिलेसम्म अधिवेशन बोलाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा अनौपचारिक रूपमा सचिवालयका अधिकारीहरूसँग राय मागेको छ।

वर्षे अधिवेशनलाई बजेट अधिवेशन पनि भन्ने गरिन्छ। संविधान अनुसार जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। बजेट संसदमा पेस गर्नुभन्दा कम्तीमा १५ दिन अगाडि संसदमा प्रि–बजेट छलफल सम्पन्न गरिसक्नुपर्ने हुन्छ। प्रि–बजेट छलफलमा प्राप्त सुझावहरूलाई समेत समेटेर सरकारले बजेट ल्याउने विश्वास गरिन्छ। प्रि–बजेट छलफलपछि सरकारको नीति तथा कार्यक्रम आउने र संसदबाट पारित भएपछि बजेट प्रस्तुत हुने संवैधानिक प्रक्रिया छ। यसका लागि जेठ पहिलो साताभित्र वर्षे अधिवेशन बोलाउनु उपयुक्त हुने राय संसद सचिवालयका अधिकारीहरूको छ।

नेपालको संविधान अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने प्रावधान रहेको छ।


सम्बन्धित समाचार