
३१ चैत,काठमाडौं । काठमाडौं प्रहरीले न्युरोड क्षेत्रमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा छापा मारी ९ लाख नगदसहित एक युवतीलाई पक्राउ गरेको छ। आइतबार दिउँसो साढे १२ बजे काठमाडौं महानगरपालिका–२२ स्थित न्युरोडबाट प्रहरी वृत्त जनसेवाको टोलीले १९ वर्षीया करिना देवकोटालाई पक्राउ गरेको हो।
गोरखा पालुङटार नगरपालिका वडा नं. १० वागडाडाकी देवकोटालाई प्रहरीले न्युरोडमा शंकास्पद अवस्थामा फेला पारेको थियो। उनको साथबाट ९ लाख रुपैयाँ नगद र ६ लाख रुपैयाँको चेक बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले हुण्डी कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त क्षेत्रमा निगरानी बढाएको थियो। पक्राउ परेकी देवकोटामाथि थप अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिइएको छ।