
३१ चैत,जनकपुर । मधेश प्रदेशमा नेतृत्व गरिरहेको जनमत पार्टीले आइतबार आफ्नै सरकारविरुद्ध जनकपुरधाममा सडक प्रदर्शन गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि आयोजित प्रदर्शनमा पार्टीका शीर्ष नेतादेखि कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रदर्शनकारीहरूले ‘भ्रष्टाचारविरुद्ध कडा कारबाही गर’, ‘योजना खरिद–बिक्री बन्द गर’, ‘जनकपुरको सार्वजनिक सम्पत्ति जोगाऊ’ र ‘धनुषा–३ मा विभेद बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर मुख्यमन्त्री कार्यालय घेराउ गरेका थिए। उनीहरूले बजेट वितरणमा विभेद, योजनामा पारदर्शिताको अभाव र भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चाल्न माग गरेका थिए।
जनमत पार्टीका नेता डा. प्रशन्नकुमार झाले जनकपुरधाममा सञ्चालित योजनाहरूको खरिद–बिक्री प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाए। उनले प्रदेश सरकारका केही मन्त्रीहरू नै यसमा संलग्न रहेको दाबी गर्दै भने, “जनमत पार्टी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको पक्षमा छ। चाहे हाम्रै पार्टीका मन्त्री किन नहोस्, जनताको करको पैसा लुट्न दिइँदैन।”
डा. झाले धनुषा–३ लाई विकास योजनाबाट बञ्चित गरिएको र पुरक बजेटमा समेत बेवास्ता गरिएकाले त्यहाँ असन्तुष्टि बढेको बताए। उनले विकास योजनामा भेदभाव गर्न नहुने र सबै क्षेत्रलाई समान रूपमा हेर्नुपर्नेमा जोड दिए।
प्रदर्शनकारीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई सात बुँदे ज्ञापनपत्र समेत बुझाएका छन्। ज्ञापनपत्रमा जनकपुरधामका धार्मिक, ऐतिहासिक तथा सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमणको अन्त्य, योजनामा पारदर्शिता, बजेटको न्यायोचित वितरण, भ्रष्टाचारमा संलग्न मन्त्रीहरूको राजीनामा र छानबिन आयोग गठनको माग गरिएको छ। आफ्नै नेतृत्वको सरकारविरुद्ध जनमत पार्टीको यो प्रदर्शनले मधेश प्रदेशको राजनीतिमा नयाँ तरंग ल्याएको छ।