
१ वैशाख, वीरगञ्ज । हनुमान जयन्तीको अवसरमा चैत ३० गते शनिबार निकालिएको शोभायात्राका क्रममा दुई समूहबीचको झडपपछि जारी गरिएको निषेधाज्ञाले वीरगञ्जको नयाँ वर्षको रौनकमा असर परेको छ ।
परिस्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी गरिएको निषेधाज्ञा आदेशले वीरगञ्जवासीको नयाँ वर्ष मनाउने योजना असफल भएको छ । चैत ३० गते बेलुका ६ः३० बजेदेखि चैत ३१ गते मध्यरातसम्म लागू गरिएको कर्फ्युले विभिन्न पूर्व–निर्धारित कार्यक्रमहरू स्थगित हुन पुगेका छन् ।
वीरगञ्ज महानगरपालिकाले नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरेको रात्रि बजार कार्यक्रम पनि दुई दिनसम्म सञ्चालन हुन नसकेपछि रद्द गरिएको छ । होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तका अनुसार, “नयाँ वर्ष मनाउन वीरगञ्ज आएका पाहुना निषेधाज्ञाको कारण होटल छाडेर फर्कन थालेका छन्,” यसले पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको पन्तको भनाई छ ।
नयाँ वर्षको ‘इभ’ र मुख्य दिनमा वीरगञ्जका होटलहरू भरिभराउ हुने गरेका थिए । तर, यसपटक दुई दिनको कफ्र्यु र निषेधाज्ञाका कारण पर्यटकहरू घरमै बस्न बाध्य भए । अध्यक्ष पन्तले वीरगञ्जका होटलहरूमा करिब ५५ प्रतिशत ‘अकुपेन्सी’ भइसकेको भए पनि पाहुना फर्कन थालेपछि अहिले अधिकांश होटलहरू खाली भएको बताएका छन् ।
वीरगञ्जमा हाल १० अर्बभन्दा बढी लगानीमा तारे तथा सुविधा सम्पन्न होटलहरू सञ्चालनमा छन्, जसमा दियालो लडर्स प्लाजा, भिष्वा, क्लार्क रिसोर्ट, सुरज होटल जस्ता प्रमुख होटलहरू समावेश छन् । वीरगञ्ज बजार क्षेत्रमा मात्रै ८५ भन्दा धेरै साना–ठूला होटल तथा लजहरू सञ्चालनमा छन् ।
व्यवसायीहरूका अनुसार, बन्द, हड्ताल, निषेधाज्ञा जस्ता गतिविधिहरूले न केवल होटल उद्योग, यसले सम्पूर्ण व्यापारिक गतिविधिमा समेत नकारात्मक प्रभाव पारिरहेको छ ।
यद्यपि, वीरगञ्ज महानगरपालिकाले भारतीय पर्यटकलाई कम्तीमा दुई रात पर्सा क्षेत्रमा नै रोक्नका लागि विभिन्न योजना बनाइरहेको जनाएको छ । सीमावर्ती नाका रक्सौल हुँदै मासिक हजारौंको संख्यामा भारतीय पर्यटक नेपाल प्रवेश गर्ने भए पनि पर्यटकीय गन्तव्यको अभावमा उनीहरू वीरगञ्जलाई केवल पारगमनमार्गको रूपमा प्रयोग गर्दै आएका छन् ।
यसले गर्दा यहाँको पर्यटन क्षेत्रले सम्भावित लाभ लिन सकेको छैन । आगामी दिनमा पर्यटकलाई आकर्षित गर्ने रणनीतिक योजना र स्थायीत्वपूर्ण वातावरण निर्माण गर्न सके वीरगञ्जले आफनो पर्यटन सम्भावनालाई नयाँ उचाइमा पुर्याउन सक्छ ।