Logo

१ वैशाख,चितवन । चितवन जिल्लामा आज भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–४ स्थित सापकोटा चोकमा बिहान बागमती प्रदेश ०६–००१ च ०३४९ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्री अन्दाजी २५ वर्षीय लालबाबु पासवानको मृत्यु भएको हो ।

मृतक पासवान पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ का बासिन्दा थिए । प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले दिएको जानकारी अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका पासवानको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी, रत्ननगर नगरपालिका–६ को दाराहात्ती चोकमा जङ्गल सफारी गरिरहेको ना४च ३३५५ नम्बरको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
अनियन्त्रित भई दुर्घटना भएको उक्त जीपमा सवार अन्य सात जना भने सकुशल रहेका छन् । प्रहरी नायब उपरीक्षक खनालले घाइते तीनै जनाको अवस्था खतरामुक्त रहेको बताएका छन् । प्रहरीले जीप चालकलाई पनि नियन्त्रणमा लिएको छ ।


सम्बन्धित समाचार