
१ वैशाख,सिम्रौनगढ । आज नेपालको सम्पूर्ण तराई क्षेत्र र भारतको उत्तरी बिहार लगायत तिरहुत क्षेत्रमा सतुआन पर्व बडो धुमधामका साथ मनाईंदै छ । बैसाख कृष्ण प्रतिपदाको दिन दुई दिवसीय यो पर्व आजदेखि सुरु भएको हो ।
पण्डित रामकिशोरका अनुसार आजको दिन भगवान सूर्य उत्तरायणको आधा परिक्रमा पूरा गरी मीन राशिबाट मेष राशिमा प्रवेश गर्छन्, जसलाई मेष संक्रान्ति पनि भनिन्छ । यो समयमा अन्नबाली पाकेर भित्र्याउने बेला भएकाले किसानहरूले खुशियाली मनाउने गर्छन् ।
आज बिहानै गाउँका मानिसहरू स्नान गरी घरका देवीदेवतालाई माटोको गाग्रीमा पानी, जौ, चना, गहुँ, मटर, मसुरो जस्ता पाँच प्रकारका अन्नको सतुवामा गुड र आँपको टिकोडा (कच्चा आँपको टुक्रा) सहित भोग लगाउँछन् । त्यसपछि सोही सामग्रीलाई आँपको टिकोडाको चटनी, मर्चा (खुर्सानी), अचारसँगै प्रसादको रूपमा ग्रहण गर्ने चलन छ ।
आजको सबैभन्दा महत्त्वपूर्ण कार्य भनेको साँझपख पित्तल वा माटोको गाग्रीमा पानी भरेर आँपको पातको पल्लव सहित देवीदेवताको स्थानमा राखिन्छ । भोलिपल्ट सोही पानी एकअर्कामा छर्किएर जुड शीतल पर्व मनाइन्छ । यो पर्वमा भोलि दिनभरि एकअर्कामा पानी छर्किएर आशीर्वाद लिने र रमाइलो गरी दिन बिताउने परम्परा रहेको छ ।