
१ वैशाख,नवलपुर । नयाँ वर्ष २०८२ को प्रारम्भसँगै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सुरु गरेको पूर्व–पश्चिम हुलाकी लोकमार्ग केन्द्रित “जनतासँग माओवादी तराई–मधेस जागरण अभियान“ आज नवलपुरको गैडाकोट पुगेको छ।
गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको अभियान टोलीलाई गैडाकोटमा स्थानीय जनसमुदाय, कार्यकर्ता तथा पार्टी नेताहरूले भव्य स्वागत गरेका छन्।
तराई–मधेसका जनसमस्यालाई प्रत्यक्ष रूपमा बुझ्न, पार्टी नीति जनतासामु स्पष्ट पार्न र जागरणमार्फत जनसंपर्क विस्तार गर्न सुरु गरिएको यो अभियानले राजनीतिक सक्रियता थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरू आज र भोलि गैडाकोट तथा वरपरका क्षेत्रमा रहेर जनतासँग भेटघाट, संवाद तथा अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी हुनेछन्।
माओवादी केन्द्रले उक्त अभियानलाई पूर्व–पश्चिम हुलाकी लोकमार्गका प्रमुख बस्तीहरूमा जनजागरण फैलाउने दीर्घकालीन रणनीतिका रूपमा लिएको छ।
अभियानका क्रममा स्थानीय मुद्दाहरू सम्बोधन, नीति तथा कार्यक्रमको प्रचार–प्रसार, र आगामी राजनीतिक दृष्टिकोणको जानकारी गराउँदै पार्टी जनतासँग अझ नजिकिने प्रयासमा जुटेको देखिएको छ।
पार्टीले यस अभियानलाई “जनतासँग प्रत्यक्ष संवाद, समाधानको पहल“ भन्ने मूल नारासहित सञ्चालन गरिरहेको छ। आगामी दिनहरूमा अभियान अन्य जिल्लाहरूमा पनि क्रमशः अगाडि बढ्नेछ।