
१ वैशाख,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हरि गौतमलाई पिप्राको नयाँबस्ती टोल विकास समितिले आज एक विशेष कार्यक्रमका बीच बधाई ज्ञापन गरेको छ । नयाँ वर्षको अवसरमा आयोजित शुभकामना कार्यक्रममा टोलवासीले गौतमलाई अध्यक्षमा निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै बधाई दिएका हुन् ।
अध्यक्षमा निर्वाचित गौतम सोही टोल विकास समितिका पनि अध्यक्ष हुन् । यस अवसरमा वीरगन्ज महानगरपालिकाका संस्थापक नगरप्रमुख विजय कुमार सरावगीले गौतम अनुभवी र निडर व्यक्तित्व भएकोले वीरगन्ज उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीको हितमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी. लामिछानेले गौतमको नेतृत्वमा रहेको संघले वीरगन्जको सामाजिक जनजीवनमा सकारात्मक परिवर्तन ल्याउनुका साथै यहाँको सभ्यता, सांस्कृतिक सम्पदा र समाजको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा डा. कृपासिन्धु चौधरी, डा. अशोक दास, अरुण झा लगायतले पनि नवनिर्वाचित अध्यक्ष गौतमलाई शुभकामना तथा बधाई दिएका थिए ।
अध्यक्ष गौतमले टोलवासी र समाजले आफूबाट गरेको अपेक्षालाई पूरा गर्न प्रतिबद्ध रहेको बताए । उनले आफ्नो व्यावसायिक कामसँगै समाजको हित र विकासका लागि पनि काम गर्ने योजना रहेको सुनाए । कार्यक्रमको सञ्चालन टोल विकास संस्थाका सचिव ऋषिराज सत्यालले गरेका थिए ।