Logo

२ वैशाख, वीरगञ्ज । छिमेकी मुलुक भारतको बिहार राज्यको राजधानी पटनामा हालै निर्माण सम्पन्न जेपी गंगा पथ पुलमा दरार देखिएको भन्दै विवाद उत्पन्न भएको छ । करिब भारु ४ हजार करोडको लागतमा निर्माण गरिएको जेपी गङ्गा पथ (जेपी सेतु) उद्घाटन भएको मात्र तीन दिनमै सडकमा  चिरा (दरार) देखिएको छ । दीदारगंज नजिकको पाया नम्बर ए-३ मा देखिएको यो दरार अहिले गङ्गा पथको दुवै लेनसम्म फैलिएको पुष्टि भएको छ ।

गत अप्रिल ९ मा बिहारका मुख्यमन्त्री नीतीश कुमारले पटनाको कंगन घाटदेखि दीदारगंजसम्म निर्माण सम्पन्न भएको गङ्गा पथको भव्य लोकार्पण गरेका थिए । सो अवसरमा दुई उपमुख्यमन्त्री सम्राट चौधरी र विजय कुमार सिन्हा, पथ निर्माण मन्त्री नितिन नवीन, विधानसभा अध्यक्ष नन्दकिशोर यादव लगायत धेरैजसो उच्च अधिकारीहरू तथा जनप्रतिनिधिहरू उपस्थित थिए ।

भारी सुरक्षा व्यवस्था र उत्सवमय माहोलमा सम्पन्न भएको सो उद्घाटन कार्यक्रमपछिको यो समस्याले सरकारको निगरानी प्रणालीमा मात्र प्रश्न उठाएको छैन, निर्माण गर्ने एजेन्सीहरूको कार्यशैलीमाथि पनि गम्भीर प्रश्न उत्पन्न भएको छ । यस्तो महत्त्वपूर्ण पूर्वाधार परियोजनामा उद्घाटनपछिको केही दिनमै यति ठूलो समस्या देखिनु निकै चिन्ताजनक विषय बनेको छ ।

अब सर्वसाधारण र विशेषज्ञहरू दुवैले परियोजनाको गुणस्तर, पारदर्शिता र जिम्मेवारीमाथि जवाफ मागिरहेका छन् । बिहार सरकारले यसबारे छानबिन गर्ने संकेत दिएको भए पनि आमजनतामा आक्रोश र निराशा बढ्दो छ । उद्घाटनको तीन दिनमै देखिएको दरारलाई सर्वसाधारणले निर्माण त्रुटि भनेका छन्, भने सरकारी इञ्जिनियरहरूले यो डिजाइनको हिस्सा भएको दाबी गरेका छन् ।


सम्बन्धित समाचार