Logo

२ वैशाख,काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सामुदायिक विद्यालयका शिक्षकहरूको समस्या समाधानका लागि पार्टीले अब निर्णायक भूमिका निर्वाह गर्न ढिलाइ गर्न नहुने बताएका छन्।

काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका सामुदायिक विद्यालयका शिक्षकहरूको माग सरकारले दुई सातासम्म पनि सम्बोधन नगरेपछि नेता साउदले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाइ राख्दै नेता साउदले भनेका छन्, ‘सरकारले शिक्षक महासंघको आन्दोलन तत्काल समाधान नगरे नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिएर समस्या समाधानका लागि निर्णायक भूमिका निर्वाह गर्न विलम्ब गर्नु हुँदैन।’

शिक्षकहरूको शान्तिपूर्ण प्रदर्शनलाई कमजोरीका रूपमा लिनु सरकारको ठूलो भूल हुने उनको भनाइ छ। आन्दोलन जति लम्बिए शैक्षिक क्षेत्रले त्यति नै ठूलो क्षति व्यहोर्नुपर्ने उनले चेतावनी दिएका छन्।

नेता साउदले सरकारले विगतमा शिक्षक महासंघसँग पटक–पटक गरेको सम्झौता कार्यान्वयन गरी समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘हाम्रो पार्टीको तर्फबाट सरकारका सरोकारवाला निकायसँग माग सम्बोधन गर्न बारम्बार पहल भएता पनि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद छ।’

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरिका शिक्षकहरू चैत्र २० गतेदेखि काठमाडौंमा सडक आन्दोलनमा छन्। १४ दिन बितिसक्दा पनि सरकारले आन्दोलनलाई गम्भीरतापूर्वक नलिएकोमा साउदले आश्चर्य व्यक्त गरेका छन्।

शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै शैक्षिक हडताल घोषणा गरी एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा बहिष्कारजस्ता कठोर कदम चाल्दा ठूलो क्षति हुने भन्दै नेता साउदले सरकारलाई तत्काल समस्याको निकास खोज्न आग्रह गरेका छन्। यो सरकारको जिम्मेवारी भएको उनको भनाइ छ।


सम्बन्धित समाचार