Logo

२ वैशाख,काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई जनालाई गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरूमा देवानगञ्ज–१ का २७ वर्षीय रवीनकुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव रहेका छन्। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

यता कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले घटनाको अनुसन्धान तीव्र गतिमा भइरहेको बताएका छन्। उनले गोली प्रहार गर्नेहरूको पहिचान भइसकेको र ५÷६ जनाको समूहको संलग्नता देखिएको जानकारी दिए।

डीआईजी अधिकारीका अनुसार गोली प्रहार घटनामा प्रयोग भएको मोटरसाइकल र गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार साँझ देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता र पिन्टु मेहतामाथि मोटरसाइकलमा सवार अज्ञात समूहले गोली प्रहार गरेको थियो। घटना देवानगञ्ज बजारमा भएको थियो।

गोली लागेर गम्भीर घाइते भएका शिवकुमारको ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेको छ।

सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले सोमबार साँझको घटनामा तीन जना घाइते भएको पुष्टि गरेका छन्। उनका अनुसार दुई जनालाई गोली लागेको हो भने एकजना लडेर घाइते भएका छन्।

देवानगञ्ज सुनसरीस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्दछ।


सम्बन्धित समाचार