Logo

२ वैशाख,काठमाडौं । सत्तागठबन्धनभित्र आशंका उत्पन्न हुने गतिविधि सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज बिहान छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब एक घण्टा लामो भेटवार्तामा दुई नेताबीच गठबन्धनको आयु र साझेदारी अनुसार कार्यशैली नभएको भन्ने टिप्पणीका बीच छलफल भएको हो।

प्रधानमन्त्री निकट स्रोतका अनुसार गठबन्धनको औचित्य र अवधिलाई लिएर दुई शीर्ष नेताबीच कुनै अन्योल छैन। उच्चस्तरीय राजनीतिक संयन्त्रभित्रकै केही सदस्यले कांग्रेस–एमाले गठबन्धनबारे आलोचनात्मक टिप्पणी गरिरहेको सन्दर्भमा ओली र देउवाले आपसी समझदारी बढाउन छलफल गरेका हुन्।

‘विगतमा पनि राजनीतिक संयन्त्र र कार्यदलहरूमार्फत नमिलेका विषय हल गर्ने चलन थियो नै, अब पनि हुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘दुवै नेताहरूले सम्भवतः छिट्टै संयन्त्रमार्फत् विषयहरूलाई सहजीकरण गर्न अग्रसरता लिनुहुन्छ।’

संयन्त्रको बैठक केही दिनभित्रैमा बोलाउन त्यसको संयोजन समितिलाई आग्रह गरिने नेताहरूले बताएका छन्। हाल कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयन्त्रको संयोजक छन्।

नयाँ वर्षसँगै नयाँ सरकार आउन सक्ने भन्दै प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिपछि एमाले र कांग्रेस वृत्तमा समेत विभिन्न कोणबाट छलफल भइरहेको छ। यो भेटवार्तालाई त्यसै सन्दर्भमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।


सम्बन्धित समाचार