
२ वैशाख,काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारदेखि ५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको साविककै आकार तथा रङमा ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो।
आजदेखि चलनचल्तीमा ल्याइएको नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप रहने सूचनामा उल्लेख छ।
यस्तै, नोटमा निवर्तमान गभर्नर अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं २०८१ लेखिएको हुनेछ। नोटको मध्य भागमा वन्य याक तथा हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको छ।
यसअघि बैंकले २०७७ मंसिर १० गतेदेखि ५ रुपैयाँ दरका बैंक नोट संकेत नम्बर ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने सूचना प्रकाशित गरेको थियो। तर, आज मंगलबारदेखि भने संकेत नम्बर ०००००१ देखि ५६०००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको सूचनामा जनाइएको छ।