
२ वैशाख,काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासको नाममा आदेश जारी गरेको छ।
न्यायाधीश विनोद शर्माको इजलासले छविलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत साता रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउन आदेश गरेको थियो।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपित एवं पूर्वडीआईजी जोशीले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका थिए। त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले प्रतिवेदन मगाउन आदेश जारी गरेको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेयता जोशी थुनामै छन्। जिल्ला अदालत रुपन्देहीले उनलाई थुनामा पठाउनुपर्ने भनी गरेको आदेशलाई उच्च अदालतको बुटवल इजलासले पनि सदर गरेको थियो।