
२ बैशाख, वीरगञ्ज । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा वीरगञ्जबाट ३ जनालाई प्रहरीेले पक्राउ गरेको छ । हिन्दु समर्थक युवाहरुले २ जना पक्राउको विरोधमा वीरगञ्जको विभिन्न ठाउँमा टायर बालेर विरोध प्रर्दशन गरेका छन् ।
वीरगञ्जको घण्टाघर चोकमा टायर बालेर आगो सहित प्रहरी माथि आक्रमणको प्रयास गरेको आरोपमा उनीहरुलाई मंगलबार राती ९.३० बजे वीरगञ्जको घडिअर्वाबाट प्रहरीले पक्राउ गरेको हो । वीरगञ्ज मंगवार साँझ देखि पुन तनाग्रस्त बन्न पुगेको छ ।
गत शनिवार वीरगञ्जमा हनुमान जयन्तीको अवसरमा निकालीएको शोभा यात्राको क्रममा दुई धार्मिक समुदाय विच भिडन्त भएको थियो । उक्त भिडन्तमा प्रहरी उपरिक्षक सहित ४० जना घाइते भएका थिए ।
घटनालाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर र १ सय ६५ सेल अश्रुग्यास प्रहार गरेको थियो । उक्त घटनामा संलग्न रहेका ४ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
ड्रोन क्यामरा, सामाजिक सञ्जालमा देखिएको भिडियोको आधारमा पहिचान खुलेका ४ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वीरगञ्ज वडा नंं २ छपकैया निवासी सलाउद्दीन मियाँ ठकुराई, सोही ठाउँ बस्ने शेख खुर्सेद, बलदेव सिंह कुशवाहा र वीरगञ्ज वडा नं. १६ बस्ने रवि सरार्फ रहेको प्रहरीले जनाएको छ ।
छपकैयाका सलाउद्दीन मियाँ र शेख खुर्सेदले शोभायात्रामा सहभागीमाथि ढुंगा प्रहर गरेको र रवि सरार्फ तथा बलदेव सिंह कुशवाहा मोटरसाइकल तोडफोड र विरयानी हाउस तोडफोडमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले बताए ।
घटनामा संलग्न केही फरार रहेका, केहीको खोजतलाश भइरहेको र केहीको भिडियोमा देखिए अनुसार पहिचान खुल्न बाँकी रहेको प्रहरी उपरिक्षक मिश्रले जानकारी दिए । प्रहरीले पक्राउ गरेका मध्ये कुशवाहा र सर्राफलाई छोडन् हिन्दुवादीहरुले प्रहरी कार्यालय घेराउ गरेका थिए ।
प्रहरीले घटनामा संलग्नहरुको तथ्य प्रमाणका आधारमा पहिचान गरि पक्राउ गरिएको र यसको अनुसन्धान हुन बाँकी नै रहेको अवस्थामा अनावश्यक दवाव नदिन सरोकारवालाहरुलाई अनुरोध गरेको थियो । प्रहरीले सम्झाउदाँ समेत उत्तेजित समूहले प्रहरीमाथि नै जाइलाग्न थालेपछि लाठ्ठी चार्ज गरी उनीहरुलाई प्रहरी कार्यालयको गेटबाट लखेटेको थियो ।
प्रहरी कार्यालयबाट भागेका हिन्दुबादी युवाहरुले वीरगञ्जको घण्टाघर, आर्दशनगर र घडिअर्वा चोकमा टायर बालेर प्रहरी विरुद्ध प्रर्दशन गरेका थिए । प्रर्दशनकारीले घण्टा चोकमा आगोबालेर प्रहरी माथि नै आक्रमण गरेपछि सो घटनामा संलग्न रहेको आरोपमा मंगलबार राती ३ जनालाई पक्राउ गरेको छ ।
घटनालाई अनावश्यक रुपमा उत्तेजित नपार्न र संयम अप्नाउन प्रहरीले आन्दोलनरत हिन्दु पक्षलाई सचेत गराएको छ । आइतवार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका आधारमा घटनामा संलग्नहरुलाई पक्राउ गरी अनुसन्धान गर्न खोज्दा अवरोध सृजना गरिनु दुखद विषय भएको प्रहरीको भनाई छ ।
प्रहरी अनुसन्धानलाई प्रभावित पार्न खोज्ने जो सुकैलाई पनि कार्वाही गरिने प्रहरीले जनाएको छ । वीरगञ्जमा समाजिक सद्भाव कायम राख्न सम्वद्ध सवै पक्षले स्थानीय प्रहरी प्रशासनले गरेको अनुसन्धानमा सहयोग गर्न प्रहरीले आग्रह गरेको छ ।