Logo

६ वैशाख,पोखरा । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले दुई दलबीच सत्ता साझेदारीमा कुनै समस्या नभएको उल्लेख गरे । उनले सरकार ढल्ने हल्लाको पछि नलाग्न पनि आग्रह गरे ।
सरकार सहमतिका साथ नै अघि बढिरहेको भन्दै उनले भने, ‘साथीहरूले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ ।’

पछिल्ला समयमा संविधानका साथै संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पारे ।
लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चारमाध्यम माथि हुने गरेको विगतमा भोगिसकेको स्मरण गरे ।

संविधान विरोधी गतिविधिका माध्यमबाट अराजकता, वितण्डा मच्चाउन खोज्ने प्रवृत्तिलाई राजनीतिक रूपमा जवाफ दिनुका साथै कानून बमोजिम पनि अघि बढिने उनको भनाइ छ ।

आमाको नाममा नागरिकता प्रदान गर्ने सम्बन्धमा विधेयक अघि बढाइसकिएको बताउँदै उनले यो समस्या चाँडै नै समाधान हुने विश्वास व्यक्त गरे ।


सम्बन्धित समाचार