१० बैशाख, ठोरी (पर्सा) । झण्डै एक दशकदेखि पर्यटकको पर्खाइमा रहेको ठोरी गाउँपालिका–२ गोलेडाँडाको भ्यू टावर अब ‘स्काई वाक भ्यू टावर’ को नामले संचालनमा आएको छ ।
पर्यटन कार्यालय वीरगञ्ज र ठोरी गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको यो टावर लामो समयसम्म संरक्षण र व्यवस्थापन अभावका कारण प्रयोगविहीन जस्तै थियो । तर, मङ्गलबारदेखि टावर आधिकारिक रूपमा पर्यटकका लागि खुला गरिएको छ ।
रेड हिल पार्कका रुपमा चिनिने स्थानीय प्रचलित नाम गोलेडाँडाको भ्यु टावरको नाम स्काई वाक भ्यू टावर भएको छ । टावरको सबैभन्दा माथिल्लो भागमा सिसा जडान गरिएको छ, जहाँबाट पर्यटकले ठोरी उपत्यकासंगै सिमावर्ती भारतीय गाउँ मज्जाले अवलोकन गर्न सक्छन् ।
पहिले निःशुल्क रुपमा खुला रहेको यो टावरमा अब भने प्रतिव्यक्ति ५० रुपैयाँ तिर्नुपर्नेछ । निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बाल कुमार बस्नेतका अनुसार टावर बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ । एक पटकमा अधिकतम २५ जना टावरमा चढ्न पाउने व्यवस्था गरिएको छ । यसबाट संकलन हुने रकम स्थानीय पर्यटन प्रवद्र्धनमा प्रयोग गरिने अध्यक्ष बस्नेतले बताए ।
अध्यक्ष बस्नेतका अनुसार, “ठोरी क्षेत्रका धेरैजसो प्राकृतिक स्थलहरू टावरबाट सजिलै अवलोकन गर्न सकिन्छ, जसले गर्दा यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्याउनेछ ।”
अघिल्लो वर्षसम्म टावर अधुरो अवस्थामा थियो । वरिपरिको क्षेत्र झारपातले ढाकिएको र मनमोहन स्मृति पार्कसमेत जीर्ण अवस्थामा रहेका कारण सयौं पर्यटक निराश भएर फर्किन्थे ।
तर, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिको ४ लाख र निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिको ७ लाख आन्तरिक लगानीपछि टावरलाई पुनः निर्माण गरी नयाँ स्वरूप दिइएको हो ।
ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले मंगलबार यस स्काई वाक भ्यू टावरको उद्घाटन गरे । अब ठोरीको गोलेडाँडा नयाँ आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ, जसले स्थानीय आर्थिक र सामाजिक विकासमा समेत योगदान पुर्याउनेछ ।















