२८ बैशाख, काठमाडौँ । शनिबार साँझ ५ बजेदेखि भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता लागू भएलगत्तै जम्मू कश्मीर लगायतका सीमावर्ती क्षेत्रमा पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम उल्लङ्घन गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
राति ८ बजेदेखि अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएस पुरा, साम्बा र उधमपुर क्षेत्रमा गोलीबारी र विस्फोटका आवाजहरू सुनिएका थिए । राजौरीमा तोप हमला भएको र उधमपुरमा ड्रोनमार्फत आक्रमण गरिएको भारत पक्षको दाबी छ।
जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले एक ट्विटमार्फत विस्फोटका आवाजहरू सुन्निएको बताउँदै युद्धविराम सम्झौतामाथि गम्भीर प्रश्न उठाएका छन् । उनले भने, “यो कस्तो युद्धविराम हो, जब श्रीनगरमै धमाका सुनिन्छन् ?”
भारतीय विदेश सचिव विक्रम मिश्रीले राति ११ बजे पत्रकार सम्मेलन गर्दै पाकिस्तानले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाए। “पाकिस्तान पछिल्ला केही घण्टादेखि आक्रमण गरिरहेको छ । भारतीय सेना त्यसको प्रतिउत्तर दिइरहेको छ,” उनले भने। मिश्रीले पाकिस्तानलाई यस किसिमको कदम ‘अत्यन्तै निन्दनीय’ भन्दै तत्काल हमला रोक्न आग्रह गरे ।
“हामीले सेनालाई परिस्थितिको नजिकबाट निगरानी गर्न र आवश्यक परेमा कडा कारबाही गर्न आदेश दिएका छौँ,” विदेश सचिव मिश्रीले स्पष्ट पारे। साथै, पाकिस्तानले भारतीय सीमाभित्र प्रवेशको प्रयास गरेको दाबी गर्दै, भारतले पनि आफ्ना सुरक्षाफौजलाई आवश्यक कदम चाल्न स्वतन्त्रता दिएको जनाएका छन्।
शनिबार साँझ ५ बजे दुबै देशबीच युद्धविरामको औपचारिक घोषणा भएको भए पनि त्यसको तीन घण्टामै उल्लङ्घन भएको घटनाले पुनः तनाव बढाउने संकेत देखिएको विश्लेषकहरूले बताएका छन् ।














