प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२९ वैशाख,काठमाडौं । केही दिनदेखिको लगातारको घामका कारण काठमाण्डौ उपत्यकासहित देशभर तापक्रम बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

हिजो पनि काठमाण्डौको तापक्रम ३२ डिग्री सेल्सियस पुगेको थियो। देशभरको तापक्रमको कुरा गर्दा, हिजो सबैभन्दा बढी भैरहवामा ४० डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। त्यसैगरी, सिमरा र जनकपुरमा ३९ डिग्री, तथा विराटनगर र धरानमा ३७ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले प्रि–मनसुनको अवस्था रहेको र पछिल्ला दुई–तीन दिनयता पर्याप्त वर्षा नभएका कारण काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भागमा तापक्रम बढेको हो। उहाँले यो तापक्रम वृद्धि मनसुन सुरु हुनुअघिको सामान्य गतिविधि भएको र तापक्रम अझै बढ्न सक्ने बताउनुभयो।

यसैबीच, महाशाखाले जनाएअनुसार देशमा पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ।

आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। दिउँसो कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

महाशाखाले मधेश र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जनाएको छ। काठमाण्डौ उपत्यकामा भने हिजोजस्तै छिटपुट पानी पर्ने सम्भावना रहेको छ।


सम्बन्धित समाचार