Logo

२९ वैशाख,लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको सञ्चालनका लागि सरकार संवेदनशील भएर काम गरिरहेको बताएका छन्। २५६९औँ बुद्ध जयन्तीको अवसरमा सोमबार लुम्बिनीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले लुम्बिनीको महत्त्वका कारण पनि भैरहवा विमानस्थल छिट्टै सञ्चालनमा आउने विश्वास व्यक्त गरे।

मन्त्री पाण्डेले काठमाडौंबाहिर रहेका भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि आवश्यक कार्ययोजना तयार भई कार्यान्वयनको चरणमा रहेको जानकारी दिए। कार्यान्वयनमा केही समस्या भने रहेको स्वीकार्दै उनले आगामी जेठ ७ गते प्रधानमन्त्रीको उपस्थितिमा अन्तरमन्त्रालयको बैठक बसी ती समस्याहरूको समाधान खोजिने बताए।

लुम्बिनीको महत्त्वमाथि प्रकाश पार्दै मन्त्री पाण्डेले यो साझा श्रद्धा र शान्तिको भूमि भएको बताए। उनले भने, “बुद्ध समस्त मानवताको साझा ज्योति हुनुहुन्छ। उहाँको ज्ञान कल्याणकारी छ। सबै प्राणीको हितका लागि प्रज्वलित छ।” बुद्धको करुणा, ज्ञान र सद्भाव जस्ता शाश्वत शिक्षाले विश्वभर शान्तिको सन्देश फैलाउन सकिएको उनको भनाइ थियो।

मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन, चिन्तन र मनन केन्द्रको रूपमा स्थापित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।


सम्बन्धित समाचार