Logo

२९ वैशाख,वीरगञ्ज । राष्ट्रिय सभाकी पूर्व उपाध्यक्ष उर्मिला अर्यालले आज ठोरीमा संघीय सरकारको लगानीमा निर्माण हुने विभिन्न रणनीतिक महत्वका सडक योजनाहरूको शिलान्यास गरेकी छन्। पूर्व मन्त्री समेत रहेकी अर्यालको पहलमा चालु आर्थिक वर्षमा यी योजनाहरूका लागि बजेट विनियोजन भएको थियो।

माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य समेत रहेकी राष्ट्रिय सभा सदस्य अर्यालले ठोरी गाउँपालिकाका विभिन्न वडामा निर्माण हुने तीनवटा पक्की ढलान सडकको शिलान्यास गरिन्। ठोरी–५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनका अनुसार, अर्यालले ठोरी १ को महत टोलमा बन्ने सडक, ठोरी–३ मा हुलाकी सडकदेखि राम श्रेष्ठको घर हुँदै शिव मन्दिर जाने सडक र ठोरी–५ बाघमोर्चामा मानेचोकदेखि पश्चिमसम्म निर्माण हुने सडकको एकैदिन शिलान्यास गरेकी हुन्।

शिलान्यास कार्यक्रममा पूर्व मन्त्री अर्यालसँगै ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ र सम्बन्धित वडाका वडाध्यक्षहरूका साथै स्थानीय बासिन्दाहरूको पनि उपस्थिति थियो। संघ सरकारको स्थानीय पूर्वाधार विभागमार्फत निर्माण हुन लागेका यी तीनवटै सडकको लागत जनही १ करोड रुपैयाँ रहेको छ। अर्यालका स्वकीय सचिव रामाकान्त चौधरीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेकेदारमार्फत काम अघि बढ्ने जानकारी दिए।

यसैबीच, आज ठोरी आइपुगेकी पूर्व मन्त्री अर्याललाई ठोरी गाउँपालिकाले गाउँपालिका कार्यालयमा भव्य स्वागत तथा अभिनन्दन गरेको छ। सो अवसरमा कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले आगामी दिनमा पनि ठोरीको विकासमा अर्यालको महत्त्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा उपाध्यक्ष गोकुली कुमारी रेग्मी, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, नेकपा माओवादी केन्द्र ठोरीका सह–इन्चार्ज राम श्रेष्ठ लगायत गाउँपालिकाका कर्मचारी र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।


सम्बन्धित समाचार