२९ वैशाख,बारा । बाराको आदर्श कोतवाल गाउँपालिकाले आज वडा नम्बर ५ रुपौलियामा दुई महत्त्वपूर्ण विकास निर्माण कार्यको थालनी गरेको छ। गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साहले एक समारोहबीच यी दुई आयोजनाको शिलान्यास गरेका हुन्।
गाउँपालिकाको आफ्नै बजेटबाट निर्माण हुन लागेका यी आयोजनामा श्री नेरानिमाविको पर्खाल निर्माण र रुपौलिया गाउँको दक्षिणतर्फको सडक ढलान रहेका छन्। प्रत्येक आयोजनाका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ, जसअनुसार कुल ६० लाख रुपैयाँको लागतमा यी दुई काम सम्पन्न हुनेछन्।
शिलान्यास कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष रिपु सिंह, वडा नम्बर ८ का वडा अध्यक्ष हरीनारायण कुशवाहा, युवा नेता तथा समाजसेवी उमेश साह, रमाकान्त साह, दिनेश पटेल, अजीम अंसारी लगायत स्थानीय बासिन्दाहरूको सक्रिय उपस्थिति थियो।
अध्यक्ष साहले विद्यालयको पर्खाल निर्माणले विद्यार्थीहरूको सुरक्षामा टेवा पुग्ने र सडक ढलानले स्थानीयको आवागमन सहज हुने विश्वास व्यक्त गरे।















