२९ वैशाख,सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले वर्तमान सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेशलाई उपेक्षा गरेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले ’कर्णालीमाथिको अपमान सहन नसकिने’ चेतावनी दिएका छन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबारबाट सुरु भएको वाइसीएल कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र समाजवादी अभियानमा रहेको र यसलाई अझ तीव्र बनाउने बताए।
उनले आफ्नो नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाएको र चीनसँगको सहकार्यमा कर्णाली लगायत उत्तरी सीमाका नागरिकका लागि आर्थिक अवसर सिर्जना गरेको स्मरण गरे। तर वर्तमान सरकारले ’कर्णाली समृद्धि कार्यक्रम’ हटाएर यस प्रदेशका जनतामाथि विभेद र अन्याय गर्न खोजेको आरोप लगाए। ’खबरदार! यसमा हामी कर्णाली जनतासँग मिलेर सरकारको यो रवैयाको विरोध गर्छौं,’ उनले चेतावनी दिए।
जनयुद्धमा कर्णालीको महत्त्वपूर्ण भूमिकाको स्मरण गर्दै अध्यक्ष प्रचण्डले कर्णालीका योद्धाहरूले राज्यका हतियार कब्जा गरेर पार्टीलाई बुझाएपछि आवश्यक हतियार प्राप्त भएको बताए। कर्णाली नेपाली क्रान्तिको ऐतिहासिक केन्द्र भएको उल्लेख गर्दै उनले प्रदेशको समृद्धिका लागि माओवादी नेतृत्वले सधैं प्राथमिकता दिएको स्पष्ट पारे।
वर्तमान सरकार भ्रष्टाचार र दलाली प्रवृत्तिलाई संरक्षण गर्ने र इमानदार प्रयासलाई दण्डित गर्ने दिशामा गएको टिप्पणी गर्दै प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सामाजिक न्याय र समानताको पक्षमा काम गर्दा माफिया र बिचौलियाहरूले सरकार ढालेको आरोप लगाए।
पार्टीले जनतासँग सम्बन्ध सुधारका लागि ’जनतासँग माओवादी’ अभियान चलाइरहेको र तराई–मधेस अभियानपछि ’मध्यपहाडी लोकमार्ग अभियान’ पुनः सुरु गरिएको जानकारी उनले दिए। समाजवादी गणतन्त्र निर्माणका लागि सबै तह र समुदायको सक्रिय भूमिका आवश्यक रहेकोमा उनले जोड दिए।
माओवादी केन्द्र संविधान संशोधनको पक्षमा रहेको बताउँदै अध्यक्ष प्रचण्डले दलित, महिला, मधेसी, थारू, मुस्लिम र आदिवासी जनजातिलाई समेट्न समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधन आवश्यक रहेको बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय स्वरूपको आवश्यकता औंल्याउँदै अहिलेको निर्वाचन प्रणाली खर्चिलो, अपारदर्शी र जनविरोधी भएको टिप्पणी गरे।
अध्यक्ष प्रचण्डले पछिल्लो समय सरकारका जनविरोधी गतिविधिबाट जनतामा देखिएको असन्तुष्टिलाई राजावादी र प्रतिगामी शक्तिहरूले दुरुपयोग गर्न खोजेको आरोप लगाए। उनले गणतन्त्र जनताको संघर्ष र बलिदानबाट प्राप्त भएको स्मरण गर्दै यसको रक्षाका लागि पुनः संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।
माओवादी बलियो भए मात्रै नेपाली जनता बलियो हुने बताउँदै प्रचण्डले समाजवादी आन्दोलन सशक्त रूपमा अघि बढ्ने र समाजवादी गणतन्त्रको बाटो नछोडिने दृढता व्यक्त गरे।
दुई दिनसम्म चल्ने वाइसीएल कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनमा प्रदेशका १० वटै जिल्लाबाट ७१८ जना प्रतिनिधि सहभागी छन्। सम्मेलनमा सांगठनिक सुदृढीकरण, राजनीतिक प्रशिक्षण र भावी कार्ययोजनाबारे छलफल हुनेछ।















