३० वैशाख, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्राप्त ग्रेडिङ (GPA) को आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ । यसअघि प्रवेश परीक्षामार्फत भर्ना गर्दै आएको परिषद्ले अब नयाँ शैक्षिक सत्रदेखि प्रवेश परीक्षा हटाउने निर्णय गरेको हो ।
सीटीईभीटीका परीक्षा नियन्त्रक उमेश मिश्रका अनुसार, अब विद्यार्थीले प्रि–डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहका कुनै पनि पाठ्यक्रममा अध्ययन गर्न प्रवेश परीक्षा दिनुपर्ने छैन। “अब जीपीएको आधारमा योग्यता सूची तयार पारिनेछ,” मिश्रले बताए ।
विगतमा कतिपय निजी संस्थाले ‘प्रवेश परीक्षा पास गराउने’ भन्दै विद्यार्थीहरूसँग रकम असुल्ने गरेको गुनासो आउँदै थियो । प्रवेश परीक्षाका नाममा हुने आर्थिक शोषण र अनियमितता हटाउन यो निर्णय गरिएको सीटीईभीटीले जनाएको छ ।
नयाँ “प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्नासम्बन्धी निर्देशिका–२०८२” अनुसार एसईईमा प्राप्त जीपीएका आधारमा योग्यता सूची तयार गरी भर्ना गरिनेछ । सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीलाई १ अङ्क अतिरिक्त, र निजी विद्यालयबाट उत्तीर्णलाई ०.८५ अङ्क अतिरिक्त अङ्कभार दिइनेछ ।
सीटीईभीटीले विद्यार्थीलाई अनलाइनमार्फत भर्ना फारम भर्न सक्ने व्यवस्था मिलाएको छ । आङ्गिक तथा सम्बन्धन प्राप्त निजी कलेजहरूले फारम भर्न सहयोग गर्नेछन् ।
परीक्षा नियन्त्रक मिश्रका अनुसार, देशभर ६३ आङ्गिक, प्रतिष्ठान र निजी गरी ४ सयभन्दा बढी कलेजहरूमा हरेक वर्ष २५ हजारभन्दा बढी विद्यार्थी नयाँ भर्ना हुने गर्छन् ।
विशेषज्ञहरूका अनुसार जीपीएका आधारमा भर्ना गर्ने निर्णयले शैक्षिक पहुँचमा समानता ल्याउने, छात्रवृत्तिमा पारदर्शिता कायम गर्ने र पूर्वतयारीका नाममा हुने आर्थिक भारलाई घटाउनेछ । विद्यार्थी र अभिभावकको समेत यो निर्णयप्रति सकारात्मक प्रतिक्रिया देखिएको छ ।















