३० वैशाख,सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा नौ दिनदेखि चलिरहेको महायज्ञको मुख्य मण्डपमा सोमबार साँझ अचानक आगलागी भएको छ। महायज्ञको अन्तिम दिन भएको यस घटनाले भक्तजनहरूलाई स्तब्ध बनाएको छ।
राजविराजबाट करिब ३ किलोमिटर उत्तरमा रहेको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा सञ्चालित श्री सीताराम नाम १००८ मण्डलीय सकिर्तन एवं श्रीरामचरित्र मानस नौ दिवसीय महायज्ञ स्थलमा हवन भइरहेकै बेला एक्कासि आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन्।
आगोले महायज्ञका लागि बनाइएको मुख्य मण्डप पूर्ण रूपमा जलेर नष्ट भएको छ। मण्डपसँगै त्यहाँ रहेका लत्ताकपडा, हवन सामग्री र अन्य पूजा सामग्री पनि जलेर खरानी भएका छन्।
घटनापछि धेरै भक्तजनले यसलाई अनिष्टको सङ्केत भनेका छन्। यज्ञ हेर्न गएकी बलान बिहुल– २ की अञ्जली पासमानले भनिन्, ‘यज्ञ कार्यमा अवश्य नै कुनै त्रुटि भएको हुन सक्छ, यो देवता रिसाएको अनिष्टको सङ्केत हो।’
राजविराज नगरपालिकाबाट आएको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। प्रहरीले जनाएअनुसार यस घटनामा कुनै मानवीय क्षति भएको छैन।
वैशाख २१ गतेदेखि सुरु भएको महायज्ञ औद्योगिक क्षेत्रको जमिन शुद्धीकरण, धार्मिक चेतना अभिवृद्धि र मानव कल्याणका लागि आयोजना गरिएको थियो। पगला बाबाको नेतृत्वमा देशभरबाट आएका श्रद्धालुहरूको सहभागिता रहेको थियो।
महायज्ञमा एक हजार आठ मण्डपमा कीर्तन मण्डली, हनुमान आराधना, वृन्दावनको रासलीला, रामलीला, रामचरित्र मानस पाठ, उच्चकोटीका विद्वानद्वारा प्रवचन र विशाल भण्डारा जस्ता धार्मिक कार्यक्रमहरूको आयोजना गरिएको थियो।
पगला बाबाका अनुसार यस्तो भव्य महायज्ञ यसअघि वि.सं. २०५६ मा धनुषामा पहिलो पटक आयोजना गरिएको थियो र यो सप्तरीमा दोस्रो पटक गरिएको हो।

















