Logo

३० बैशाख, वीरगञ्ज । नेपालको बैंकिङ क्षेत्रमा मिश्रित अवस्था देखिएको छ। नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको प्रमुख वित्तीय सूचकहरूले यो तस्बिर देखाएको हो। समग्रमा निक्षेप र कर्जा बढेको देखिए पनि, बैंकहरूको वर्ग अनुसार कार्यसम्पादनमा ठूलो भिन्नता छ।

‘क’ वर्गको दबदबा वाणिज्य बैंकहरूले निक्षेप र कर्जा वृद्धिमा मुख्य योगदान दिएका छन्। कुल गार्हस्थ्य उत्पादनको १२०.२६% निक्षेप र ९७.०६% कर्जा पुग्नुले बैंकिङ क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा बनेको स्पष्ट हुन्छ।

सीडी रेसियोमा सतर्कता: समग्र कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ७९.४५% रहेकाले राष्ट्र बैंकको सीमाभित्रै छ। तर, ‘ख’ वर्गका विकास बैंकहरूको सीडी रेसियो ८५.१०% पुगेको छ, जुन केही उच्च हो।
‘ग’ वर्गमा जोखिमको घण्टी ! तरलताको अवस्था हेर्दा, ‘ग’ वर्गका बैंकहरूको कुल तरल सम्पत्ति निक्षेपको तुलनामा उच्च (२६.५५%) देखिए पनि, निष्क्रिय कर्जाको अनुपात डरलाग्दो छ। समग्र बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा ५.२४% हुँदा, ‘ग’ वर्गका बैंकहरूमा यो १३.०४% पुगेको छ। यो तथ्याङ्कले ‘ग’ वर्गका बैंकहरूको सम्पत्ति गुणस्तरमा गम्भीर समस्या र उच्च जोखिम औंल्याएको छ। यसलाई विज्ञहरूले गम्भीर चिन्ताको विषय भनेका छन्।

वित्तीय पहुँच बढ्दो : मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ७० लाख नाघ्नु वित्तीय पहुँचमा भएको प्रगति हो। यो वित्तीय साक्षरताको प्रभावकारी कामको रुपमा लिन सकिन्छ । देशभर ५४ वटा वित्तीय संस्थाका ६,५०६ शाखाहरूले सेवा दिइरहेका छन्।

ब्याजदरमा सन्तुलन : औसत निक्षेप ब्याजदर ४.४५% र कर्जा ब्याजदर ८.२२% रहेको तथा ब्याज आम्दानीको अन्तर ३.७७% हुनुले बैंकहरूको सञ्चालन आम्दानी सामान्य रहेको देखाउँछ।

नियामकको भूमिका अपरिहार्यस् समग्रमा बैंकिङ प्रणाली स्थिर देखिए पनि, ‘ग’ वर्गका बैंकहरूमा देखिएको उच्च निष्क्रिय कर्जाले विशेष निगरानी र सुधारको आवश्यकता देखाउँछ। वित्तीय पहुँच बढे पनि संस्थागत असन्तुलन कायमै रहेकाले समग्र वित्तीय स्थिरताका लागि नियामक निकायहरूको सक्रियता अपरिहार्य छ।

अहिलेको सूचकले डिजिटल सेवा विस्तार र वित्तीय समावेशीकरण सकारात्मक भए पनि सम्पत्ति गुणस्तर र संस्थागत व्यवस्थापनमा सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याएको छ। ‘ग’ वर्गका बैंकहरूलाई विशेष निगरानीमा राख्नुपर्ने र आवश्यक सुधारका लागि पहल थाल्नुपर्ने विज्ञहरूको सुझाव छ।


सम्बन्धित समाचार