Logo

३१ वैशाख, काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन् ।

१४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर यथावत राखेर र तीन बैंकले सामान्य बढाएर सूची सार्वजनिक गरेका हुन् । सार्वजनिक सूचीअनुसार नेपाल, एभरेस्ट र सानिमा बैंकले वैशाखको तुलनामा जेठमा सामान्य बढाएका छन् । तीन बैंक नेपाल इन्भेस्टमेन्ट, मेगा, कुमारी र सिद्धार्थले सामान्य घटाएका छन् ।

समग्रमा व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५ दशमलव ९७९ प्रतिशत रहेकोमा जेठ महिनामा ५ दशमलव ९५२ प्रतिशतमा झरेको छ ।
जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर नेपाल बैंकले ५ दशमलव ४५ प्रतिशत तोकेको छ भने सबैभन्दा धेरै ब्याजदर एभरेस्टले ६दशमलव ६४ प्रतिशत तोकेको छ । अधिक तरलता भएर राष्ट्र बैंकले खिचिरहेको अवस्थामा केही बैंकहरूले आफ्नो स्थितिअनुसार ब्याजदरमा सामान्य घटबढ गरेका हुन् । हाल केही बैंकमा कर्जाको माग बढेको छ भने केहीमा माग नै छैन । सबै प्रकारका विषयलाई मध्यनजर गर्दै बैंकले आफ्नो रणनीतिअनुसार जेठ महिनाका लागि ब्याजदर तय गरेका हुन् ।

कर्जाको माग न्यून रहनु र पूँजीगत खर्चको ‘सिजन’ रहेकाले ब्याजदर तत्काल बढिहाल्ने अवस्था नरहेको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बताएका छन् । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर र संस्थागत निक्षेपमा दिने ब्याजदरको अन्तर न्यूनतम १ प्रतिशत विन्दु हुनुपर्ने व्यवस्था गरेको छ ।


सम्बन्धित समाचार