Logo

३१ वैशाख, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले १९५ जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा दाखिला गरेको छ । पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएका फैसलाहरू कार्यान्वयन गर्ने क्रमलाई तीव्रता दिँदै जिल्ला प्रहरी कार्यालय पर्साले उल्लेखनीय सफलता हात पारेको हो।

प्रहरी उपरीक्षक गौतम मिश्रको विशेष निर्देशनमा गठित कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले मिति २०८२ वैशाख ३० गते एकै दिन १९५ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी सम्मानित पर्सा जिल्ला अदालतमा दाखिला गरेको छ।

विभिन्न मुद्दाहरूमा अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका यी प्रतिवादीहरू लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए। विशेष टोलीले सूचना संकलन, निगरानी र आवश्यक रणनीति अपनाएर जिल्लाका विभिन्न स्थानहरूबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताए ।

एकै पटक यति ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ पर्नुलाई जिल्ला प्रहरी कार्यालय पर्साले महत्वपूर्ण उपलब्धि मानेको छ। पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरिएको र अदालतको आदेश अनुसार थप कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

यस सफलताले फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन प्रहरी सक्रिय रहेको सन्देश दिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले आगामी दिनमा पनि फैसला कार्यान्वयनलाई उच्च प्राथमिकता दिँदै फरार रहेका अन्य प्रतिवादीहरूको खोजीलाई थप तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। यस कार्यमा सहयोग पुर्‍याउने सबैलाई प्रहरीले धन्यवाद ज्ञापन गरेको छ।

फरार प्रतिवादी पक्राउको घटनाले पर्सा जिल्लामा शान्ति सुरक्षा कायम राख्न र कानूनी शासनको पालना गराउन प्रहरी प्रशासन कटिबद्ध रहेको स्पष्ट सन्देश दिएको छ।


सम्बन्धित समाचार