३१ वैशाख,काठमाडौं । महालेखा परीक्षक तोयम रायाले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रममा उक्त प्रतिवेदन पेश गरिएको हो।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व बढाउन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए। उनले सरकारी कारोबारमा वर्षेनी बढ्दै गएको बेरुजु सुशासनका लागि चुनौतीपूर्ण अवस्था भएको उल्लेख गर्दै सरकारी कोष सञ्चालन गर्ने सबै पदाधिकारीलाई थप जिम्मेवार बनाउन महालेखा परीक्षकको भूमिका महत्त्वपूर्ण हुने बताए।
राष्ट्रपति पौडेलले विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासोको विषय भएको भन्दै वर्तमान परिस्थितिमा सरकारी खर्च गर्दा कानूनको पालना र आर्थिक अनुशासनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
उनले आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन महालेखा परीक्षकले आगामी दिनमा थप सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। राष्ट्रपतिले सरकारी वा सार्वजनिक स्रोत, साधन र सम्पत्तिको सदुपयोग भए नभएको परीक्षण गर्ने महालेखा परीक्षकको भूमिका महत्त्वपूर्ण हुने भन्दै प्रतिवेदनमा औंल्याइएका विषयहरूले सम्बन्धित निकायलाई आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्वप्रति थप सजग गराउने विश्वास व्यक्त गरे।















