Logo

३१ बैशाख, बारा । बाराको सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने गाडी दुर्घटनामा परेको छ । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं.– ५ स्थित नारायणचोकबाट करिब २०० मिटर उत्तरतर्फ कटहरिया जाने सडकखण्डमा बुधबार बिहान करिब ११ः३० बजे सवारी दुर्घटना भएको हो।

चपुरबाट कटहरिया हुँदै सिम्रौनगढतर्फ आउदै गरेको बा २ झ ४३५४ नम्बरको सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको महेन्द्र कम्पनीको स्कारपियो गाडी आफै अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको देवाही गोनाही प्रहरीले जनाएको छ।

चालक बाहेक गाडीमा कोही पनि सवार थिएन । सिम्रौनगढ नगरपालिकाका सूचना अधिकारी सुरेश यादवका अनुसार रौतहटकै एक पालिकाका प्रमुखलाई कलैयाबाट रौतहट छोडेर फर्किने क्रममा दुर्घटना भएको हो ।

स्कार्पियोमा पु-याईएका जनप्रतिनिधि चन्द्रपुरका हुन् की कटहरियाका हुन् त्यो भने यकिन नभएको सूचना अधिकारी यादवले बताए । उनका अनुसार कलैयामा कुनै कार्यक्रममा सहभागी हुन आएका प्रमुखलाई पु-याउन सिम्रौनगढका मेयर चढ्ने गाडी गएको हो । दुर्घटनामा स्कारपियो गाडी पूर्ण रूपमा क्षति भएको छ।

स्कारपियोका चालक, बारा सिम्रौनगढ नगरपालिका वडा नं.–१ बैरिया निवासी अन्दाजी ४० वर्षीय मुस्तुफा आलमको अवस्था सामान्य रहेको छ। उनलाई कुनै गम्भीर चोटपटक नलागेको प्रहरीले पुष्टि गरेको छ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी सहायक निरीक्षक अर्जुन मण्डलको कमाण्डमा एक टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राख्नुका साथै दुर्घटनाग्रस्त गाडी र चालकलाई आफ्नो नियन्त्रणमा लिएको छ।

दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको प्रकृति र क्षतिको मूल्याङ्कन गरिरहेको छ।


सम्बन्धित समाचार