३१ वैशाख, काठमाडौ । नेपाल राष्ट्र बैंकले आज ३५ अर्बको निक्षेप संकलन आह्वान गरेको छ ।
आइतबार मात्रै ३० अर्बको निक्षेप संकलन गरेको राष्ट्र बैंकले आज फेरी ३५ अर्बको निक्षेप संकलन आह्वान गरेको हो । वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्दीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन जटिल बन्दै गएको छ । आइतबार ३० अर्ब निक्षेप माग गरेको केन्द्रीय बैंकलाई बैंक तथा वित्तीय संस्थाले २९ अर्ब १० करोड रुपैयाँ दिएका थिए ।
एक सातामा ७५ अर्बको निक्षेप संकलन आह्वान गर्दा पनि अन्तर बैंक दर भने ब्याजदर करिडोरको तल्लो सीमाको दर भन्दा तल छ । वित्तीय प्रणालीमा अधिक तरलता भएको अवस्थामा अन्तर बैंक दर घट्छ ।
पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलता छ । बैंक तथा वित्तीय संस्थाले घट्दो ब्याजदरमा पनि कर्जा लगानी बढाउन नसक्दा प्रणालीमा अधिक तरलताको समस्या कायम छ ।
आजसम्ममा वित्तीय प्रणालीको ३ खर्ब ३५ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा छ । यो पैसा स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन उपकरण मार्फत केन्द्रीय बैंकले खिचेको हो । पुर्व बैंकर शोभनदेव पन्तका अनुसार आर्थिक गतिविधिमा अपेक्षा अनुसारको सुधार आउन नसक्दा र कर्जाको माग समेत बढ्न नसक्दा अधिक तरलताको समस्या भएको हो । पछिल्लो समयमा अन्तर बैंक दर ३ प्रतिशत भन्दा तल आएपछि साताको दुई पटकसम्म निक्षेप संकलन गरेको राष्ट्र बैंकले जनाएको छ ।















