३१ बैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतको खरिदविक्री सम्झौता (पिपिए) खुलाएको छ ।
प्राधिकरणको हिजो बसेको सञ्चालक समितिको बैठकले करिब ५ हजार मेगावाटका ५४ वटा जलविद्युत आयोजनाका लागि पीपीए खुल्ला गरेको हो । प्राधिकरणले १८५९ मेगावाटका आरओआर आयोजना र ३१ सय ७ मेगावाटका अर्धजलाशययुक्त आयोजनाको पीपीए गर्ने भएको हो ।
प्राधिकरणले आज सूचना जारी गर्दै अर्धजलाशययुक्त (पीआरओआर) र बहाबमा आधारित (आरओआर) परियोजनाको विद्युत् खरिद सम्झौता गर्न आयोजनाहरूलाई आव्ह्वान गरेको छ । प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट भएका तर पीपीए हुन बाँकी जलविद्युत् आयोजनाहरूले विद्युत् खरिद बिक्रि सम्झौता गर्न सक्नेछन् ।
पीपीएको पाइपलाइनमा रहेका ५४ आयोजनाहरूलाई ३० दिनभित्र अध्यावधिक विवरण तथा कागजातहरू सहितको निवेदन विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागमा सम्पर्क गर्न पनि प्राधिकरणले भनेको छ । प्राधिकरणले यसअघि पीपीए खोल्न आनाकानी गर्दै आएको थियो । प्राधिकरणमा शाक्य नियुक्त भएपछिको पहिलो बोर्ड बैठकले पीपीए खुला गर्ने निर्णय गरेको थियो ।

















