१ जेठ,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय माग गरेको छ ।
बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै अख्तियारले उनलाई कैद सजायको माग गरेको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ बमोजिम दफा ३ मा भएको पहिलो संशोधन पूर्वको दफा ३ को उपदफा (१) (झ) एवं संशोधन पश्चातको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम बमोजिम उनलाई १० करोडभन्दा बढी भ्रष्टाचार मुद्दामा १० देखि १४ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।
साथै अख्तियारले उनी विरुद्ध दूरसञ्चार ऐन, २०५३ को दफा १८ र २० मा रहेका नेपाल सरकार मन्त्रिपरिषद्ले मात्र प्रयोग गर्न पाउने अधिकारकै अपव्याख्या गरेको कसुरमा पनि सजाय माग गरेको छ ।
उक्त कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ बमोजिम दफा २४ अनुसार पनि कैद सजाय माग गरिएको छ । उक्त व्यवस्थाअनुसार पदीय दुरुपयोगको कसुरमा थप ३ वर्ष कैद सजाय हुनसक्ने व्यवस्था रहेको छ । उनी विरुद्ध अख्तियारले ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो माग दाबी भएको छ ।

















