प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेविरुद्ध राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पारेको गम्भीर आरोप लगाएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद सोविता गौतमले लामिछानेको मुद्दामा पछिल्लो समय जाहेरीकर्ता भनिएका व्यक्तिहरूले आफूले कुनै किटानी जाहेरी नदिएको सार्वजनिक रूपमा बताउन थालेको दाबी गरिन्।

गौतमले भनिन्, “आजभोलि रवि लामिछानेको मुद्दामा जाहेरीकर्ता बनाइएकाहरूले सार्वजनिक रूपमा नै ’मैले रवि लामिछानेविरुद्ध कुनै किटानी जाहेरी दिएको थिएन। मलाई थाहा नै नदिई अभियोग पत्रमा नाम लेखियो। कसैविरुद्ध किटानी जाहेरी नै नहालेको व्यक्तिलाई उजुरीकर्ता बनाइयो’ भन्दै सार्वजनिक रूपमा प्रश्न गरिरहेका छन्।“

उनले यो विषयमा अदालतले आफ्नो ढंगबाट निराकरण गर्ने भए पनि सामाजिक र राजनीतिक वृत्तमा राज्यले किर्ते जाहेरी निर्माण गरी राजनीतिक नेतृत्वविरुद्ध फौजदारी मुद्दा खडा गरेको विषय गम्भीर चासोको रूपमा आएको बताइन्।

“शक्तिको दुरुपयोग आफैँमा संविधान विपरीतको कार्य हो र जब सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्छ, त्यो संस्थागत भ्रष्टाचारको चरम रूप हो। पक्राउ पुर्जीविना गरिएको पक्राउ, पूर्वाग्रहपूर्ण अनुसन्धान र बिना किटानी जाहेरी नाम लेखेर अभियुक्त बनाउने कार्य सबै मानव अधिकारसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन हुन्,“ उनले थपिन्।


सम्बन्धित समाचार