१ जेठ,काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको केही दिनभित्रै नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाउने आशा व्यक्त गरेका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले गभर्नर सिफारिस समितिमा अब कुनै फेरबदल नहुने पनि बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले गभर्नर नियुक्ति प्रक्रियाबारे जानकारी दिए। उनले यसअघि सिफारिस समितिमा देखिएका समस्या समाधान भइसकेको बताए।
‘‘सिफारिस समितिबाट सुरुमा विजयनाथ भट्टराईले राजीनामा दिनुभयो। त्यो डिफल्ट भयो। त्यसपछि महाप्रसाद अधिकारीलाई समितिको सदस्यमा थप्यौँ,’’ मन्त्री गुरुङले भने, ‘‘त्यसपछि डा. विश्व पौडेलले राजीनामा दिने परिस्थिति बन्यो। समितिका सदस्यले राजीनामा दिने परिस्थिति बनेको हुनाले यो काम चाँडोभन्दा चाँडो सम्पन्न गर्नका लागि फेरि पुनर्गठन गरेका छौँ।’’
हिजो बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे सदस्य रहेको नयाँ सिफारिस समिति गठन गरेको थियो। मन्त्री गुरुङले अब यो समितिले तीव्रताका साथ काम गर्ने र छिट्टै गभर्नर नियुक्त हुने विश्वास व्यक्त गरे।
‘‘महाप्रसाद अधिकारी र पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति बनेको छ। अब तलमाथि नभई दुई चार दिनभित्र नयाँ गभर्नर पाउँछौँ भन्ने आशा लिएका छौँ,’’ उनले भने।

















